
काठमाडौं— निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगका लागि तयार पारिएको कानुनमा भोट हाल्दिन भन्ने विकल्पको व्यवस्था रहेको बताएका छन् ।
‘नेपाल कानुन समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचन सम्बन्धी कानुनमा कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने ।
निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरणको ऐनबारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढी मत आए निर्वाचन रद्ध हुने व्यवस्था पनि गरेका बताए ।
‘म कसैलाई भोट हाल्दिन भन्ने मतमा कूल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्ध हुन्छ, र त्यतिबेला उम्मेदवार भएको मानिसहरूले पुनः उम्मेदवारी दिन सक्दैन, किनभने उनीहरूलाई जनताले अस्वीकार गरिसकेको हुन्छ, यो व्यवस्था पनि राखेका छौँ,’ उनले थपे ।
प्रमुख आयुक्त थपलियाले ऐनलाई लागु गरेर २०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पहल गरेको बताए ।