News Griha :: न्यूजगृह
मानसिक रोगी सुनाले आफैलाई जलाइन, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं— दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

आइतबार घरमा कोही नभएको बेला शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउदको उपचारको क्रममा धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

शैल्यशिखर नगरपालिका-५ का वडाध्यक्ष जनक सिंहका अनुसार मृतक सुना लामो समयदेखि मानसिक रोगी थिइन् । आइतबार सुनाको नियमित खाने औषधि सकिएकाले उनको श्रीमान स्वास्थ्य चौकी औषधि लिनका लागि जाँदा उनी एक्लै घरमा थिइन् ।

‘उहाँको श्रीमानले दिएको जानकारी अनुसार, उहाँ १३ वर्षदेखि मानसिक रुपमा अस्वस्थ भएर औषधि सेवन गर्दै आउनु भएको रहेछ, हिजो उहाँको औषधि सकिएकाले श्रीमान औषधि लिन स्वास्थ्य चौकी गएका रहेछन्,’ उनले भने, ‘सोही समयमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाउनु भएछ, घाइते उहाँलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि धनगढी लैजाने क्रममा बैतडीको पाटनमै मृत्यु भयो ।’

साउदको ८० प्रतिशत शरीर जलिसकेको बताइएको छ । सिंहका अनुसार उनको तीन छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:३८
Weather Update