क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । उनी सोमबार बिहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्न पाकिस्तान गएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले भने,‘म आशावादी छु । फिट छु । हामी खेल जित्ने कोसिस गर्छौं । हाम्रो टिमले पाकिस्तानमा अभ्यास पनि गरिरहेको छ ।’
उनले भारत र पाकिस्तानजस्ता ठूला टिमसँग खेल्दा हारजितभन्दा पनि उनीहरूसँग सिक्नु नै ठूलो कुरा हुने बताए ।
एसिया कपमा समूह ‘ए’ मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० ०९:३६













