
काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले सोमबार पूर्णता पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र २ जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले ३, एमालेले २, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमत पार्टीबाट १/१ समिति सभापतिमा उम्मेदवारी परेको छ ।
कुन दलबाट कुन समितिमा को उम्मेदवार ?
कांग्रेसबाट सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरका छन् ।
नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गरेका छन् ।
रास्वपाबाट गणेश पराजुलीलाई उद्योग समितिमा उम्मेदवार दिएका छन् । यसैगरी एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपकबहादुर सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।