News Griha :: न्यूजगृह
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एकको मृत्यु, ५७ घाइते

काठमाडौं— दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा गएराति भएको २ वटा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पहिलो विस्फोटमा ८ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो ।  मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

मन्त्रालयले ३९ जना अग्निनियन्त्रक २ जना प्रहरी र २ जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ । सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका ४ जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको २ वटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०६:१२
Weather Update