
भक्तपुर— मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग ८ औं दिनमा आइतबार सहमति भएको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।
यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए ।
पटक—पटकको छलफलसँगै आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो ।
सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए । उनले भने,‘मृतकका परिवार र आफन्तसँग पटकपटक छलफल गर्यौँ र आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ ।’
मृतक परिवारले भने १० लाख क्षतिपूर्ति एवम् राहत रकमको माग गर्दै आएका थिए । युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप दुई लाख सहयोग रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ ।













