
पाल्पा— तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा ४ वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपैयाँ वार्षिक अनियमितता भएको पाइएको छ ।
४ वर्षदेखि नगर शिक्षण अनुदानमा अध्यापन गराइरहेकी मिना भाट र संघीय शिक्षण अनुदानमा अध्यापन गराइरहेकी पार्वती सुन्धौलीको नाममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको मिलेमतोमा अनियमितता भएको शिक्षकको आरोप छ ।
२०७६ साल माघदेखि माध्यमिक तहमा लेखा विषय पढाउँदै आएकी मिना भाटले आफ्नो पुरै तलब निकासा गरीदिन भन्दै निवेदन दिएको बताइन् ।
उनले भनिन्,‘आफ्नो परिश्रमको पारिश्रमिक यति धेरै हुन्छ भन्ने थाहा नै भएन, उहाँहरूले नियुक्ति दिँदा तपाईंको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई–चार पैसा भए पनि आम्दानी हुने घरपाइ मिलेको जागिर भनेर पढाउन थालेँ उहाँहरूले भने हामीलाई छुट्टयाएको रकम लुकाएर बस्नुभयो ।’
२०७८ देखि अंग्रेजी विषय पढाउँदै आएकी शिक्षक पार्वती सुन्धौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले १५ हजार तलब हुन्छ भनेर भनेको बताइन् । सुन्धौलीले भनिन्,‘दलित भनेपछि हामी वर्षौँदेखि हेपिएका बल्ल बल्ल पाएको जागिर जाने डरले भन्ने हिम्मत नै आएन । अब पनि यही कारण जागिर जान्छकी भन्ने डर छ ।’
विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले शिक्षक, विद्यालय व्यवस्थापन समिति र उहाँहरू नै बसेर समन्वय गरेको बताए । घिमिरेले बाँकी पैसा हिनामिना नगरेको विद्यालयको खातामै राखिएको जानकारी दिए ।
शिक्षक मिना भाटको नाममा ३७ हजार ९९० र पार्वती सुन्धौलीको नाममा ३४ हजार ७३० रुपियाँ जानेगरेको भए पनि उनीहरूले विद्यालयबाट १५ हजारमा १५० कर कट्टी कटाएर १४ हजार ८५० मात्रै बुझ्ने गरेका छन् ।
नगर शिक्षा शाखामा बुझाउने भर्पाइमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको छ । शिक्षक मिना भाट र पार्वती सुन्धौलीका अनुसार आफूहरूको बाँकी रकम १९ हजार ७३० र २२ हजार ९९० रुपैयाँ विद्यालयको खातामा रहने भनेर हस्ताक्षर गर्न लगाइएको छ । गोरखापत्र दैनिकबाट













