News Griha :: न्यूजगृह
मानिसलाई आक्रमण गर्ने पोथीबाघ संरक्षणमा राखियो

बाँके— मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । 

सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिएर संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उक्त पोथीबाघले सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो । अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । 

दुई सय ६८ सेन्टिमिटर लम्बाई रहेको पोथीबाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातीको गोलाई ९४ सेन्टिमिटर भएको उनले जानकारी दिए ।

हाल बाघको स्वास्थ्य अवस्था पूर्ण रुपमा राम्रो रहेको शाहको भनाइ छ । उनका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् ।

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैँसीको मासु खुवाउने गरिएको छ । ‘भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैँसीको मासु दिने गरेका छौँ,’ उनले भने ।

बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल एक सय ८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिए । 

‘उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ,' उनले भने, ‘सोही घरमा पोथीबाघलाई संरक्षणका लागि राखिएको छ ।’ 

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:०२
Weather Update