उपनिर्वाचन
चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार बिहान पौने ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ छन्। चितवन–२ मा आफ्नो उम्मेदवारी दर्ता गरेर लामिछाने डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता गर्न तनहुँ हिडेका छन्।
लामिछाने मंसिर ४ को निर्वाचनमा चितवन २ बाट भारी मतसहित विजयी भएका थिए। नागरिकता विवादमा सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले पनि दिउँसो उम्मेदवारी दर्ता गर्दैछन्।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ११:५३













