
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत रहेको दाबी गरेका छन् ।
विश्व वातावरण कोषको ७ औं एसेम्ब्ली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपालमा रहेको विषय विश्व समुदायसामु दाबी गरेका हुन् ।
त्यस्तै, उनले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएको उनको सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो, सुख्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको भन्दै उनले विश्व समुदायको ध्यानाकर्षण गराए ।
अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै एसेम्ब्लीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
मन्त्री डा. महत विश्व वातावरण सुविधाको ७ औं एसेम्ब्लीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षतासमेत गरेका छन् ।













