News Griha :: न्यूजगृह
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं— नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

भेटमा मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका नेताहरू मधु आचार्य, जगदिशनरसिंह केसी, भूपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटीलगायतको प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्रीलाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो ।

अभियानकर्ताले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नु पर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नु पर्ने माग गरेको थियो ।

यसैगरी, सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह पूर्वाग्रह नराखी नाम जोडिएका जो कोहीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने, देशमा सुशासन कायम हुनु पर्ने, भ्रष्टाचार काण्डमा दोषी जुनसुकै तहको नेता भए पनि कानुनी कारबाही गर्नु पर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको कांग्रेस नेता शाहीले जानकारी दिए ।

यसै क्रममा प्रधानमन्त्री दाहालले सबै मुद्दामा आफू गम्भीर ढंगले प्रस्तुत भई त्यसलाई निचोडमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:५४
Weather Update