
काठमाडौं— समाजवादी प्रेस संगठनले आगामी असोजभित्र सबै प्रदेशमा भेला आयोजना गर्ने भएको छ ।
संगठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा भेला सम्पन्न गरी संगठनको संरचना र सामर्थ्य विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले आम सञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चार गृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
बैठकले संगठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
अब बस्ने पदाधिकारी बैठकले संगठनको आवश्यक विभाग गठन, सल्लाहकार समिति निर्माण, विभागलाई पूर्णता प्रदान गर्ने छ ।
संगठन सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना, समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिएको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।
बैठकमा सांगठनिक प्रतिवेदनलगायत मातहतका कमिटीले सम्बन्धित भूगोलमा भए/गरेका कार्य प्रगतिको समीक्षा गर्दै संगठनको नीति, विधानमा छलफल गरिएको थियो ।
संगठनले आइतबार स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तथा विभिन्न पुरस्कारको घोषणा गर्ने भएको छ ।













