
काठमाडौं— धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाइएको छ ।
धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागु गरिएको थियो । निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल सुरु भएको हो ।
साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।













