
म्याग्दी— प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरूलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् ।
पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् ।
लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गरेका सुवेदीले अस्थायीसहित ४३ वर्ष ६ महिना १८ दिन शिक्षण गरेका थिए ।
वि.सं.२०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिएका हुन् ।
आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनःशिक्षणमा फर्किएको उनले बताए ।
‘अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ’,सुवेदीले भने ।
सानो उमेरमा अध्ययन गर्न नपाएका,बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी वि.सं. २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो ।
अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ ।
विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् ।
जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।
शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रबार विद्यालयमा स्वागत गरिएको छ । सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैंमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताए ।













