News Griha :: न्यूजगृह
समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्छ : भट्टराई 

काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्ने बताएका छन् ।

केही दिनदेखि धरानमा उत्पन्न साम्प्रदायिक बेमेलप्रति संकेत गर्दै डा.भट्टराईले देश र समाजमा शान्ति, एकता, सद्भाव कायम हुनुपर्ने बताएका हुन् ।

आइतबार उनले ट्वीटरमा लेखेका छन्,‘समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्छ । समाज र राज्यको उत्पत्ति भएदेखिको मानवजातिको यो साझा चाहना र खोजी हो । बुद्ध र अरस्तुदेखि मार्क्स र गान्धी हुँदै हाम्रो पुस्तासम्म यो क्रम जारी छ ।’

अध्यक्ष डा.भट्टराईले विचार, दर्शन, धर्म, संस्कृति, राजनीतिका विभिन्न धार र हाँगाबिगा यसैको खोजीमा आविष्कार तथा संश्लेषण भएको बताउँदै यो खोजी संसारभर अझै पूर्ण नभएको उल्लेख गरे । उनले मानवजातिको साझा खोजीमा सबैले इमान्दारीपूर्वक योगदान गर्नुपर्ने बताएका छन् ।

उनी भन्छन्,‘हाम्रो विचारमा समाज र राज्यमा वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्यायको स्थापना र पक्षधरता अपरिहार्य हुन्छ । असत्य र अन्यायको बीचमा उत्पीडित पक्ष जानेर वा नजानेर चुप बस्यो भने पनि सतहमा शान्ति,एकता,सद्भाव भएजस्तो देखिन्छ । तर त्यो वास्तविक र दिगो हुँदैन । त्यसैले वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्याय बेलैमा स्थापित गर्न सबैले उत्तिकै ध्यान दिनुपर्छ कि ? नत्र सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा वा मुढेबल र कुतर्कको स्याउलाले छोप्न खोज्दा भोलि झन् ठूलो अनिष्ट हुनसक्छ ।’

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:५६
Weather Update