News Griha :: न्यूजगृह
ढिलै भए पनि संसदीय समितिले नेतृत्व पाउँदैछ, खुसी लागेको छ : एमाले संसदीय दलका उपनेता नेम्वाङ

काठमाडौं— नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ ढिलै भए पनि संसदीय समितिले नेतृत्व पाउन लागेकोमा खुसी लागेको जनाएका छन् ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आइतबार ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

नेम्वाङले संघीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताए ।

उपनेता नेम्वाङले भने,‘हामी समितिमार्फत देशमा पारदर्शिता र जनताप्रति जवाफदेहिता स्थापित गर्ने काम गर्छौं, समिति संविधान, कानुन, संसदीय मूल्य मान्यताका विषयमा हुने खुला र गहन छलफलका आधारमा सकारात्मक परिणाम निकाल्ने उपयुक्त थलो हो । खुसी लागेको छ, ढिलै भए पनि नेतृत्व पाउँदैछ ।’

संसद्को सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुंगाेमा पुर्‍याउने काम संसदीय समितिबाटै हुने बताइएको छ ।

यसपटक संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा माओवादी केन्द्र २, नेकपा एमाले ३,नेकपा एकीकृत समाजवादी एक,जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:४४
Weather Update