
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । हाल कोशी,मधेस र बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी,मधेस बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको भनाइमा गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।













