News Griha :: न्यूजगृह
सामाजिक सद्भावको पक्षमा उभिन धरानवासीलाई  प्रधानमन्त्रीको अपील 

काठमाडौं— प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानवासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

शनिबार साँझ एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् ।

हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिने तर्फ गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसका लागि पहल गर्न राजनीतिक दल तथा सङ्घसंस्थाहरूलाई अपील गरेका उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

उनले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आआफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानवासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।’ 

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:३५
Weather Update