News Griha :: न्यूजगृह
संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन

काभ्रे— वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार ज्ञानकाजी मानन्धरको शनिबार ८९ वर्षको उमेरमा निधन भएको छ । १९९१ साल पुसमा वाङ्ख्योटोलमा जन्मिएका मानन्धर संस्कृतिका मर्मज्ञ र दीर्घकालीन शिक्षा तथा समाजसेवीसमेत थिए । 

काभ्रेको बनेपाका उनले नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषामा समेत थुप्रै कृति एवं ज्ञानगुनका कुरा लेखेका छन् । लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेख र पुस्तक प्रकाशन छन् । 

यस्तै बनेपाको चण्डेश्वरी, साँखुको खड्गयोगिनी, काठमाडौंको कुमारी, भक्तपुरको नवदुर्गा, पनौतीको इन्द्रेश्वर महादेव, कीर्तिपुरको बाघभैरव, गोर्खाको गोरखनाथ, जनकपुरको सीता, काठमाडौंको खास्तीचैत्यआदिबारे ऐतिहासिक तथ्यसहित खोजमूलक कृति तथा लेख रचना प्रकाशित छन् । उनको दोलखा भीमसेनको इतिहास प्रकाशोन्मुख अवस्थामा  थियो ।

संस्कृतिका प्रकाशित पुस्तकमा द लेजेन्ड अफ कुमारी, खड्गजोगिनी, श्वेतचैत्य, नेपाल–आख्यान र नाटक, कपिलवस्तुस भगवान्, बनेपा स्तवन, अरनिकोया श्वेतचैत्य, बनेपा सातगाउँ, मानन्धर तय्गु विषय छुँ खँ र पश्चाताप प्रकाशित छन् ।
 
उनी काभ्रेमा अंग्रेजी विषयमा बीएड गर्ने पहिलो व्यक्ति तथा ‘बनेपाको इतिहासको पिता’का रुपमा पनि परिचित छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:१०
Weather Update