
रूपन्देही— फरक सामानको बिजक पेस गरी सामान भित्र्याउँदै गर्दा भैरहवा भन्सार कार्यालयले ती समान बरामद गरेको छ ।
प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परिमाणमा कपडा, काजु, किसमिसलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार पास गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लास्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए ।
ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिई जाँच सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराइए पनि ती व्यावसायिक फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ ।
प्रारम्भिक जाँचका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब दुई करोड बराबरको रहेको अनुमान गरिएको छ ।













