News Griha :: न्यूजगृह
के सरकार ढल्दै छ?, के भन्छन् गठबन्धन र प्रतिपक्षी दलका नेताहरू?

काठमाडौं— ललिता निवास, सुन तस्करी र नक्कली भुटानी शरणार्थी प्रकरणपछि सत्ता गठबन्धन फेरबदलको हल्ला छ ।

हल्ला चलेको लामो समय भइसक्यो तर आधिकारिकरूपमा कुनै पार्टी, नेताले सार्वजनिकरुपमा दाबी भने गरेका छैनन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गर्छन्  ।

उनले सामान्यतया गठबन्धनभित्र समस्याहरू आइरहने बताए । तर, ती समस्याहरू समाधान गर्दै जाने नै अहिलेको आवश्यकता भएको उनको तर्क छ ।

नेता घिमिरेले भने, ‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु । अहिलेसम्म सरकारका बारेमा जेजति कुरा आएका छन्, यी विषयहरू सरकार ढाल्नुपर्ने र सरकारको समीकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन् ।’

उनले ललिता निवास प्रकरणमा छानबिन गरिरहेका कोही पनि प्रहरी अधिकृतहरूलाई सरुवा नगरिएको स्पष्ट पारे । उनले नेपालमा व्यक्तिअनुसार फरक फरक कानून नभएको जिकिर गरे । घिमिरेले भने, ‘कानून दुई वटा छैन् । सन्दीप लामिछानेलाई हतकडी लगाउन आवश्यक थिएन । यदि भागेर जाने सम्भावना छैन भने गिरफ्तारी गर्नुहुँदैन् । जघन्य अपराधमा बाहेक थुनेरै अनुसन्धान गर्नुपर्छ भन्ने छैन । सन्दीप लामिछानेमाथि हतकडी लगाउने काम गलत भयो ।’

नेकपा एमालेका नेता शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई स्टन्टमात्रै बनाएको बताए । उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निष्कर्षमा पुर्याउन नसक्ने बताए । 

उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरूलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरूलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए । 
शरणार्थी प्रकरणमा अदालतमा पेश भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने तामाङको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउन जरुरी रहेको उनको भनाई छ । 

त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरू सबै आर्थिक लाभकै कारण संलग्नता नभएपनि न्यायिक प्रश्न उठेपछि न्यायिक कसीमा जाँचिनुपर्ने तामाङले बताए । 

‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौ, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कसीमा जाँचिनु पर्दछ,’ उनले भने । 

अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्म मात्रै बाँकी रहने तामाङको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले कँही ब्युँझिएको जस्तो गर्यो भनेपनि भ्रष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।  

‘कांग्रेस अहिले ब्युँतिएको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले कँही ब्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे कोको भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’ नेता तामाङले भने । 

त्यस्तै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य दिलु पन्तले सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरिन् । उनले पार्टीले सरकारको सुशासनको एजेण्डामा दरिलो साथ दिइरहेको पनि स्पष्ट पारिन् । 

उनले भनिन्, ‘अहिले हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौँ पूर्ण बैठक भर्खरै सम्पन्न भैसकेको छ । भ्रष्टाचारलाई समूल अन्त्य गर्नको निम्ति हामीले सडकदेखि सदनसम्म आवाज बुलन्द बनाउने भनेका छौं । सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कारबाहीमा सघाउने भनेका छौं । सरकारले गरेको छानबिनलाई साथ दिने भनेका छौं । तर, सरकारले छानबिन लुकाउन खोजेमा हामी विरोध गर्दछौँ । अहिले सरकारले ठीक ढंगले काम गरेको छ । यसमा हाम्रो पूरा साथ र समर्थन छ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने, ‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिब रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ । आशा जगाएको छ । जसरी अहिले सरकार कडाइका साथ अघि बढेको छ, गठबन्धन एक ढिक्का भएको छ। सरकार अलिकति पनि दायाँबायाँ हुँदैन । कसैले शंका गर्ने ठाउँ छैन् । सरकारको आयुमा ग्रह र दशा लागेको स्थिति छैन । सरकार राम्रोसँग अघि बढ्छ ।’

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:५२
Weather Update