ए डिभिजन लिगको छैटौं चरण सोमबारबाट, कुन–कुन क्लब भिड्दैछन् ?

काठमाडौं— शहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरू सोमबारबाट सुरु हुँदैछ ।
लिगको छैटौं चरणअन्तर्गत सोमबार दुई खेलहरू हुँदैछ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । विभागीय डर्बी भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।
एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पाँचौं चरणसम्म जितविहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटार भिड्दैछन् । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ । खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ०९:३९