काठमाडौं— सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले धरान उपमहानगरमा भएको घटनाले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतामा खलल पुर्याउने भन्दै सद्भाव कायम राख्न अपिल गरेका छन् ।
सभापति देउपाले परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको स्मरण गरे ।
यसैबीच उनले भने, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आआफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा भुल्न हुँदैन, साथै कसैको धर्म, संस्कृतिप्रति दख्खल पुर्याउन पनि उचित हुँदैन ।’
नेपालीको भावना र चाहनाविपरीत गतिविधिको संवेदनशीलतालाई मध्य नजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रजहरू एक ठाउँमा उभिएर आपसी सद्भाव कायम राख्ने पर्ने उनको भनाइ थियो ।













