
काठमाडौं— सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा १३० जनालाई पक्राउ गरेका छन् ।
केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सीएनबी)ले शनिबार विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी कारवाहीमा १३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
सीएनबीले दुई साता लामो कारबाहीका क्रममा करिब एक हजार ३१८ ग्राम हेरोइन, दुई हजार ५३५ ग्राम गाँजा, ४८६ ग्राम ‘आइस’ र १८८ ग्राम केटामाइनलगायत लागू औषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन् । सीएनबीले पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।
सिङ्गापुर लागू औषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो । उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको छ ।
हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो ।
सिङ्गापुरले २० वर्षपछि पहिलो पटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । २० वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।













