काठमाडौं— उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको राष्ट्रिय योजना अगाडि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा कार्य योजना बन्दै गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न मन्त्रिपरिषद् कार्य योजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिए ।
‘मुलुकमा सुशासन, भ्रष्टाचारको नियन्त्रणमा वर्तमान सरकारको नेतृत्वमा एउटा संकल्पसहित अगाडि बढेको छ, जनातले सरकारी कार्यालयमा सहज रुपमा पाउनु पर्ने सेवा व्यवस्थापन हुनुपर्ने थियो,’ उनले भने, ‘त्यसमा भएको कमजोरीलाई हटाउनका लागि मन्त्रिपरिषद्को मुख्य सचिवले एउटा टोलीमार्फत लाग्नु भएको छ ।’
उपसभापति खड्काले पार्टी रुपान्तरणका लागि पहिला आफू सुध्रिन आवश्यक भएको भन्दै एकताको भावना, इतिहासको समीक्षा र जनताको हितमा काम गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्नु पर्ने बताए ।
उनले कांग्रेसको सिद्धान्तमा नभई कार्यशैली र पार्टीको संगठन चलाउने तरिका, कार्यक्रम गर्ने शैली तथा व्यवहारमा प्रश्न उठेको भन्दै त्यसलाई सुधार गर्नु आवश्यक रहेको बताए ।