
काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौं महानगरका स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।
कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगर प्रमुख साह चर्चामा रहेको बताए । क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो ।
‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेन जी जस्तो क्रियटिभ साथीलाई पनि पार्टीविहीन बस्न नदिने, अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण यही नेपाली कांग्रेसले गर्नु पर्छ,’ उनले भने, ‘यसका लागि क्षेत्र नं. ३ बाट तपाईहरुले सुरु गर्नुहोस् ।’
उनले आफ्नो पार्टीले काठमाडौं र देश विकासका लागि नेतृत्व गर्दै अर्बौंको भौतिक संरचना निर्माण गरे पनि त्यसको प्रचार नगरेको दाबी गरे ।
उनले भने, ‘जसको कुनै पार्टी छैन, र पनि सगरमाथाभन्दा अग्लो चर्चाको शिखरमा हुनुहुन्छ बालेन साह, हामीले के कुरा बिर्सिराख्यौँ भन्दाखेरी नेपाली कांग्रेसले करोडौं खर्बौं खर्च गरेर काठमाडौं र यो मुलुकलाई व्यवस्थित गर्नको निम्ति पुल पुलेसाहरु, भौतिक संरचनाहरु बनाइदिएको छौँ, हामीले करोडाैं, अर्बौंको पुलको कुरा कहिल्यै पनि गरेनौँ ।’
सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियानअन्र्तगत मेयर साहको नेतृत्वमा बिजुलीबजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनु पर्ने बताए ।