News Griha :: न्यूजगृह
चितवनमा एकै वर्ष १२ सय सम्बन्धविच्छेदका मुद्दा दर्ता

चितवन— जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार २१६ दर्ता भएको हो ।

यस्तै चेक अनादारको मुद्दा ७२२, अंशसम्बन्धी मुद्दा ६२६, लागु औषधसम्बन्धी १६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्ष अदालतमा तीन हजार ४३५ मुद्दा दर्ता भएका थिए । 

गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार ५६५ मुद्दामध्ये एक हजार ३४५ मुद्दा फैसला भएका छन् । नयाँ दर्ता भएका तीन हजार ४३५ मध्ये दुई हजार २६८ मुद्दा फैसला भएका छन् । गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार ९८७ रहेको उनको भनाइ थियो ।

सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार मेलमिलापमार्फत ३१० मुद्दा मिलापत्र भएका छन् । 

मेलमिलापमा पठाइएका एक हजार २६५ मुद्दामध्ये ८४७ मुद्दा फिर्ता भएका छन् भने १०८ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए ।

अदालतले चालु आवका लागि पाँच हजार ८२३ वटा मुद्दा दर्ता हुने र तीन हजार ७८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ । 

यस्तै, निवेदनतर्फ दुई हजार २६७ दर्ता हुने अनुमान गरिएको छ । चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले साउनमा २१० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २८१ मुद्दा फैसला गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १०:०९
Weather Update