News Griha :: न्यूजगृह
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै 

काठमाडौं— अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन् ।  उनको भ्रमण सेप्टेम्बर पहिलो साता हुनेछ ।

सिनेटर भ्यान होलेनको कार्यालयले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमासमेत भ्रमण गर्नेछन् । 
 
होलेनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । उनको भ्रमणका एजेण्डामा खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ । नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका होलेनको ८ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुनेछन् ।  क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । 

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०७:४३
Weather Update