
बागलुङ— भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् ।
बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ ।
विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण वस्ती माथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताए । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोखे ।
बागलुङ नगरपालिका–४कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उनको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताए ।













