News Griha :: न्यूजगृह
जनयुद्ध लक्षित भ्रामक प्रचारलाई गम्भीर रुपमा लिएका छौँ : प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई लक्षित गरी भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार समाजवादी मोर्चाद्वारा वीरगन्जमा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले जनयुद्ध र मधेस आन्दोलनमा होमिएकालाई लक्षित गरी भएको भ्रामक प्रचारप्रसारलाई सरकारले गम्भीर रुपमा लिएको बताएका हुन् । प्रचण्डले भने, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ । खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ । यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।’ 

उनले सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढिसकेको भन्दै अब यसबाट सरकार पछि नहट्ने दाबी गरे । प्रचण्डले भने, ‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।’ उनले विभिन्न अवरोधका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्‍याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्‍याइए बताए ।

प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०४:२३
Weather Update