News Griha :: न्यूजगृह
हङकङबाट आएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं— ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोग मागेको छ । 

सीआईबीले इन्टरपोल बेइजिङ मार्फत हङकङ सब ब्युरो र भारतको नेशनल सेन्ट्रल ब्युरो (दिल्ली)लाई सहयोग माग्दै पत्राचार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको कार्गो सामानबाट गत साउन ३ मा सुन बरामद भएको थियो ।

उक्त सामान हङकङबाट आएको थियो । स्रोतका अनुसार त्यसैले सुन पठाउने व्यक्तिहरू र त्यहाँको थप नेक्ससबारे सूचना सीआईबीले हङकङस्थित इन्टरपोलका अधिकारीहरूसँग मागेको हो ।  

साथै नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले पनि त्यहाँका अधिकारीहरूसँग पनि सहयोग मागिएको स्रोतको दाबी छ । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरू यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ । सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०२:४७
Weather Update