News Griha :: न्यूजगृह
बाढीले तटबन्ध नै बगायो, सिरहाको बेल्ही गाउँ असुरक्षित
फाइल तस्बिर ।

सिरहा— अविरल वर्षापछि आएको बाढीले सिरहास्थितबलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ ।

बलानबिहुलगाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर बाढीले बगाएपछि बेल्ही गाउँ असुरक्षित भएको हो ।

सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले नौ सय मिटरको तटबन्ध लगाएको थियो । तर बिहीबार रातिको बाढीले ५० प्रतिशत तटबन्ध बगाएको वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए । 
तटबन्ध बगाएर बेल्ही नयाँ टोलका १५ घरपरिवार जोखिममा परेका छन् । अहिले पानीको स्तर कम भए पनि जोखिम कायमै रहेको वडाध्यक्ष झाले जानकारी दिए । उनले भने, 'बाढीले तटबन्ध भत्किदाँ किसानले लगाएको धानबालीमा व्यापक क्षति भएको छ ।'

स्थानीयले प्रशासन र बलानबिहुल गाउँपालिकाले भत्किएको बाँध बनाई बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले बनाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको स्थानीय महेन्द्र यादवले गुनासो गरे । 

लगातारको वर्षाले बलान नदीमा आएको बाढीले बलानबिहुलगाउँपालिका–१मल्हनियाँ–२दिघिया–३दुधैला–४ बेल्हीमा बाढीको पानी पसेको गाउँपालिकाले जनाएको छ । कटान नियन्त्रणका लागि तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । 

बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले शुक्रबार निरीक्षण गरेको छ । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए । प्रत्येक वर्ष आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान भूमिहीन बन्दै गएको छ । बलान नदीमा स्थायी तटबन्ध नबन्दा घरबस्ती सार्दासार्दै स्थानीय हैरान छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०२:२९
Weather Update