म्याग्दी— जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
निरन्तरको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताए ।
‘अन्नपूर्ण गाउँपालिकाको दाना खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ । फगाममा रहेको दुई केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर मुनिबाट गुइठेमा ठूलो पहिरो खसेको छ’, उनले भने,‘पहिरो पन्छाउने क्रममा सडक विभागका लोडर अपरेटर र चालक घाइते भएका छन् । जोखिम रहेकाले करिब एक साता बेनीदेखि दाना भएर अत्यावश्यक काममा बाहेक यात्रा नगरिदिनुहुन अनुरोध गरिएको हो ।’
निरन्तरको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक मर्मत गरी सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए ।













