
सिन्धुपाल्चोक— भारी वर्षाका कारण मेलम्ची खाेलामा आएको बाढीले हेलम्बु गाउँपालिका—४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालय बगाएको छ । दिनभरि कटान गरेपछि राति ८ बजे मेलम्चीले विद्यालयको बगाएको हो ।
यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित हो । सोही विद्यालय पढेका पूर्वविद्यार्थी विदुर ज्योति न्यूजगृहसँग भन्छन्,‘२०६६/६७ सालमा मैले ११ र १२ कक्षा पढेकाे हुँ । आफूले पढेको विद्यालय बाढीले बगाउँदा धेरै दुःखी छु । खोलाबाट विद्यालय टाढा थियो । बाढी आएपछि खोलाको सतह बढ्यो । अनि विद्यालय बगायो । यो विद्यालय हेलम्बु क्षेत्रको शिक्षाको धरोहर हो । यसपटक पनि हेलम्बुलाई प्राकृतिक संकटले छोडेन ।’
बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् । मेलम्चीको बहाब कम नभएकाले सबैलाई सतर्क रहन वडा अध्यक्ष बुद्धिमान तामाङले आग्रह गरेका छन् । मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका ४ घर पनि उच्च जोखिममा परेका छन् ।














