
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले शिक्षालाई कुनै निजी क्षेत्रको मुनाफाका लागि दिन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षा नीति र अबको गन्तव्य’ विषयक अन्तर्किया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
उनले भने,‘१२ कक्षासम्मको शिक्षा त्यसलाई पूर्ण रुपले राज्यले नै लिनुपर्छ तर शिक्षा ऐनमा त्यो खालको नीति आउन सकेको छैन भन्ने मैले सुनेको छु । आउन खोजेको कुरालाई पनि विरोध गरेर सरकारले खुट्टा कमाएको भन्ने छ । त्यो गर्नु हुँदैन । संविधानले नै मौलिक हक भनेर राखेको शिक्षालाई कुनै नीजि क्षेत्रको मुनाफाको लागि दिन सकिँदैन । जसले लगानी गर्नुभएको त्यसले ट्रष्ट बनाएर, परोपकारी ढङ्गले लैजान सक्नुहुन्छ । तर मुनाफामा जानु हुँदैन ।’
अध्यक्ष डा.भट्टराईले वैज्ञानिक र आधुनिक शिक्षा सबैले पाउनुपर्ने उल्लेख गर्दै यसको दायित्व केही मान्छेले लिएर नहुने पनि प्रस्ट पारे । शिक्षाको दायित्व राज्यले लिनुपर्ने उल्लेख गर्दै उनले शिक्षालाई मुनाफाको लागि व्यापारिकरण गर्नु नहुने पनि प्रस्ट पारे ।













