News Griha :: न्यूजगृह
सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत हुनु पर्छ : उपप्रधानमन्त्री खड्का

भक्तपुर— उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्तिबाट सबै सचेत रहनु पर्ने बताएका छन् ।

चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम नगर्नेमा जोड दिए ।

‘देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,’ उनले भने, ‘यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकताको आकांक्षालाई पूरा गर्न एक भएर लाग्नु पर्छ ।’

उनले तीनै तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:४७
Weather Update