News Griha :: न्यूजगृह
विराटनगर पुगेर ओलीले भने- कोशी प्रदेशमा एमालेको सरकार बन्छ

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

विराटनगरमा पत्रकारले ओलीलाई कोशी प्रदेशको अबको निकास के ? भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएका हुन् ।

‘एमालेको सरकार बन्छ, एमालेको सरकार चल्छ, मजाले चलाउँछ, एमालेको ४७ होइन ५० भन्दा माथि जान्छ,’ उनले भने । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापले कोशीमा अस्थिरता आएको आरोप लगाए ।

‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले अस्थिरता आएको हो, नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने,’ उनले थपे, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिन बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लङ्घन हो, यो ।’

अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको टिप्पणी गरे ।

(यसअघिको समाचार शीर्षकमा भुलवश गलत पर्न गएकाले सच्च्याइएको छ । स‍‌.)

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:५७
Weather Update