
काठमाडौं— नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
एसेम्ब्लीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ । यसअघि, मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्ब्ली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको बताएका थिए ।
साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याका लागि पानीको श्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए । उनले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीको संरक्षण गरेको बताए ।
मन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्ब्लीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रीत गर्न अनुरोध गरे ।
जलवायु परिवर्तन जोखिम उच्च भएका देशहरूको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यान्वयन गर्नु पर्नेमा उनको भनाइ थियो ।













