News Griha :: न्यूजगृह
तटबन्ध भत्काएर बस्तीमा पस्दै राप्ती, एक दर्जन बस्तीका बासिन्दा त्रसित
फाइल तस्बिर

बाँके— जिल्लाको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेती योग्य जमिन कटान गरी बस्तीमा पस्न थालेको छ । 

बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीमा पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शंकर यादवले जानकारी दिए ।

उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्ती सोनारीको र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित भएका छन् । 

‘राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो, सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ,’ उनले भने, ‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ ।’

तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षालगायत बस्ती डुबानको जोखिममा रहेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए ।

‘२०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो,’ स्थानीय दुर्गाप्रसाद पाण्डेले भने, ‘बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।’

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिम मानिएका राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको तटबन्धका इञ्जिनियर सूर्यदेव नायकले बताए ।

नदी नियन्त्रणका लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा बारम्बार पहल भए पनि कुनै सुनुवाइ हुन नसकेको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:२०
Weather Update