1678623598.jpg)
काठमाडौं— बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुने भएको छ ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेण्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुन लागेको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्न र नदी महोत्सव तथा महाजल यात्रा गर्न लागिएको जानकारी दिए ।
ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट बिहान ७ बजेदेखि सुरु हुने महाजल यात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले जानकारी दिए ।
काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दुषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो । उक्त महोत्सव तथा महाजल यात्रा सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजल यात्रामा सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्ने छन् ।













