News Griha :: न्यूजगृह
सडक हिलाम्ये भएपछि चीनबाट आयातित ४ सय बढी विद्युतीय गाडी रोकियो

रसुवा— रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय गाडी टिमुरेमा रोकिएका छन् ।

टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भीर एवम् ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना गाडी रोकिएका हुन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका ४ सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् ।

यसबाट एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका गाडी रोकिएकाे जनाइएको छ ।

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:०७
Weather Update