काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार जारी गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकाबारे बुझेर मात्र विद्यालय कर्मचारी नेतृत्वप्रति टिप्पणी गर्न आग्रह गरेका छन् ।
कतिपय विद्यालय कर्मचारीले बजेट कार्यान्वयन पुस्तिकामा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी तथा विद्यालय कर्मचारी नेतृत्वलाई फोन, म्यासेज गरेका छन् ।
उनीहरू सबैलाई एकमुष्ट जवाफ दिँदै अध्यक्ष तिवारीले बजेट भाषण समेटिएर कार्यक्रम कार्यान्वयन पुस्तिका आउनु निरन्तर चल्ने प्रक्रिया रहेको बताउँदै विद्यालय कर्मचारी र सरकारबीच भएका सहमति कार्यान्वय गराउन निरन्तर लागिपरेको जनाएका छन् ।
उनले भने,‘अर्थ मन्त्रालयमा रहेको हाम्राे फाइललाई मन्त्री कक्षमा पुर्याएको व्यहोरा जानकारी गराउँदछु । केही दिनमा मन्त्री (११ गते) स्वदेश आउने कुरा छ । त्यसपछि के हुन्छ हेरौं । कुरा नबुझेर हैरान नबनाउनू । हामी कुनै कसर बाँकी राख्दैनौं आम विद्यालय कर्मचारीको हकहधिकारका लागि । धर्य गरौं ।’
अध्यक्ष तिवारीले संस्थागत काम जारी राख्न आग्रह पनि गरेका छन् ।













