News Griha :: न्यूजगृह
कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित

झापा— डेंगु संक्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार २ सय ३७ संक्रमित भएका छन् । डेंगु संक्रमणबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।

सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन् । उनका अनुसार यहाँ १५ हजार ९ सय ५२ जना संक्रमित भएका छन् ।

प्रदेशका १४ जिल्लामै डेंगु संक्रमण फैलिएको चम्लागाईँले बताइन् । उनका अनुसार मोरङमा ३ हजार ३ सय ६३ संक्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार ४ सय २० संक्रमित भएकामा एकको मृत्यु भएको छ ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेंगु फैलिएको चम्लागाईँले बताइन् । ‘विशेष गरी गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ’, उनले भनिन्,‘डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।’

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेंगुका बिरामीको उपचार भइरहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २१:११
Weather Update