
भक्तपुर— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताएका छन् ।
धरानमा गाईगोरू काटेर खाएकोतर्फ संकेत गर्दै ओलीले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजिएको बताए ।
बिहीबार नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी संठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले अहिले जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेकाले नै जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाए ।
उनले भने,‘नुवाकोटमा वर्षको एकपटक गोरु जुधाइन्छ, विचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ र सिङ त्यो गोरुको भाँचिन्छ, पीडा त गोरुलाई हुन्छ, जुधाउने माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्वन्द्व फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनुपर्छ ।’













