News Griha :: न्यूजगृह
घाइते भएपछि चालकले गाडी ब्याक गरी मारेको भन्दै राजमार्ग अवरुद्ध
सांकेतिक तस्बिर

रौतहट— सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा बिहीबार दिउँसोदेखि रौतहटको पूर्व–पश्चिम राजमार्ग बागमती–चपुर सडक खण्ड अवरुद्ध भएको छ  ।

चन्द्रपुर नगरपालिका–१ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिब ५५ वर्षीया विमलाकुमारी विमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग अवरुद्ध गरेका हुन् ।

पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उनी सख्त घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ ।

उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयले तोडफोड गरी क्षति पुर्‍याएको बताइएको छ ।  

दमकलमा ढुंगा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्ण रूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन् । 

चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पुर्‍याएको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:५८
Weather Update