News Griha :: न्यूजगृह
‘गिरीबन्धु टी’बारे ओलीले भने— देश बनाउन हिँडेको हो, दुई गट्टा रुपैयाँमा बिक्दिनँ

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन ‘गिरीबन्धु टी स्टेट’को भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सम्मेलनमा बोल्दै उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा आफ्नो सरकार हुँदा कानुनबिना बेच्न पाइँदैन भनेर कानुन बनाउँदा उल्टै आरोप लगाइएको टिप्पणी गरे ।

‘१०० केजी ६१ मा झर्‍यो, साढे ९ केजी कतिमा झर्‍यो थाहा छैन, यति मजाक गरिरहन भ्रष्टाचारको कुरालाई लुकाउन गिरीबन्धु टी स्टेट निकाल्यो, त्यो मेरो होइन् गिरीबन्धुको हो,’ उनले भने, ‘२१ सालदेखि छ, पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो, म आएपछि कानुनबिना बेच्न हुँदैन भनेको थिए, कानुन बनाइदिए भ्रष्टाचार भयो रे ।’

उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे । एमाले देशलाई समृद्ध बनाउन भनेर हिँडेको भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे ।

‘उता चिल आयो भन्ने यता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ, यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला,’ उनले भने, ‘देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व हो, देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो, दुई तोला सुन, दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन यो बिक्ने ज्यान होइन ।’

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:३७
Weather Update