
काठमाडौं— टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्वर्गीय टेकबहादुर साउदको सालिक अनावरण भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले टीकापुर घटना भएको आठ वर्षपछि बालकको सालिक अनावरण गरेकी हुन् ।
यस क्रममा मन्त्री श्रेष्ठले बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन् । २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो ।
‘टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो, त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘अहिले पनि त्यहीँ घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ, टीकापुरमा अशान्ति छैन, शान्त छ ।’
यसैबीच, मन्त्री श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्ध रुपमा काम गर्दै आएको बताएकी छन् ।
उनले भने, ‘नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ, विकासका लागि एकता सधैँ आवश्यक हुन्छ ।’
यस क्रममा उनले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् ।
नेपालको संविधान जारी हुँदै गर्दा ०७२ भदौ ७ गते थारुहट/थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित नाबालकको मृत्यु भएको थियो ।













