
काठमाडौं— संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।
बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते सबै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसका निम्ति भदौ १० गतेदेखि प्रक्रिया प्रारम्भ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति बिहीबार सूचना प्रकाशित हुने बताए ।
‘संसदीय समितिका सभापतिहरूको अलिम्व निर्वाचन गर्नु पर्ने, टुंग्याउनु पर्ने विषयमा भयो, ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन हुनेछ,’ उनले भने, ‘१० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ, यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ ।’
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो ।













