
जाजरकोट— कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाले हवाई उडान सेवा प्रभावित भएको हो ।
डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन ।
हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्थलमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए ।
‘दुई दिन भइसक्यो जहाज कुरोको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन,’ उनले भने, ‘स्थल मार्गबाट जान पनि समस्या छ ।’
सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनु पर्ने बाध्यता छ । तर, मौसम प्रतिकुल बन्दा यात्रुहरूलाई समस्या हुँदै आएको छ ।
डोल्पामा सडक पुगे पनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो ।
हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन ।













