
बागलुङ— शरीरमा तागत घट्दै गएको ७६ वर्षीय बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन ।
उनको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत ।
उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्षअगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दंग भएका छन् । बिहानदेखि रातिसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन ।
जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया बस्छन् । उनी आफैँ पूर्व शिक्षक हुन् । सानैदेखि नयाँ प्रकारका फलफूल खेतीमा रुचि राख्ने उनले ३८ वर्ष शिक्षण पेसा गरे ।
पन्ध्र वर्षअगाडि अवकाश पाएका उनले दुई वर्षअगाडि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थालेका हुन् । दुई छोरा र दुई छोरीले विवाह गरेर आ-आफ्नो गर्न थालेपछि अहिले घरमा अर्याल श्रीमतीसँग बस्दै आएका छन् ।
बुढेस कालमा सुखले आराम गरेरै खान्छु भने पनि उनलाई सहजै पुग्छ । तर, उनी बाचुञ्जेल काम गर्नु पर्ने मान्यता राख्दै आएका छन् ।
बागलुङको बडिगाड गाउँपालिका–५ का अर्यालले गाउँभन्दा पारी गुल्मीको मुसिकोट नगरपालिका–१ मा ड्रागन फ्रुट्स खेती गरेका हुन् । उनको मुसिकोटमा पनि घर छ ।
विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई गाउँमा रोक्न आफूले व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको बालकृष्ण बताउँछन् । गाउँका खेती योग्य जमिनको सदुपयो गरी उत्पादन वृद्धि गरी गाउँमै लाखौँ कमाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।
‘उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनु पर्छ भन्ने लाग्छ,’ उनले भने, ‘अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला ?’
सरकारले गाउँका मान्छेलाई गाउँमै रोक्न नसके राज्य परनिर्भर भन्ने चिन्ता उनमा छ । आफूले यो खेतीलाई नमूना बनाएर अमेरिका र अष्ट्रेलिया रहेका छोरा बुहारीलाई गाउँ फर्काउने योजना बनाएको उनले सुनाए ।
करिब २० लाख रुपैयाँबाट सुरु गरेको ड्रागन फ्रुट्स खेतीबाट उनले पहिलोपटक १० क्विन्टल बढी बिक्री गर्ने सोच बनाएका छन् ।